काठमाडौँ । नेपालले सन् २०२२ मा हुने टी-२० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ ।

नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ । टी-२० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने भएका हुन् ।

नेपाल अहिले टी-२० वरियतामा १५औँ स्थानमा छ । नेपालभन्दा माथि १४औँ स्थानमा स्कटल्याण्ड, १३औँ स्थानमा युएई र १२औँ स्थानमा जिम्बाब्बे छन् । ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन् ।

ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई दुई टोली टी-२० विश्वकप क्रिकेटका लागि छनोट हुने आईसीसीले जनाएको छ । यो प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को खेल फेब्रुअरी २०२२ र समूह ‘बी’ को खेल मे २०२२ मा हुनेछ । तर, स्थान भने आईसीसीले तोकेको छैन ।

यसअघि सन् २०२० मा अष्ट्रेलियामा विश्वकप हुने तय थियो । त्यसका लागि १६ टिमको टुङ्गो पनि लागिसकेको थियो । तर, कोरोनाभाइरस महामारीका कारण स्थगित भएको हो ।