एजेन्सी । अमेरिकाको संसद भवन क्यापिटल बिल्डिङभित्र पसेर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिँसा मच्चाएका छन् । त्यसलगत्तै राजधानी वाशिङ्टनमा निशेधाज्ञा जारी गरिएको छ ।

हिंंसामा अहिलेसम्म एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । तर, मृत्यु हुनेको नाम खुलाइएको छैन । गोली लागेर मृत्यु हुने महिला रहेको जनाइएको छ ।

कंग्रेसमा आज डेमोक्र्याट उम्मेद्वार जो बाइडेनको विजय पुष्टि गर्ने कार्यसूची थियो । तर, ट्रम्प समर्थकले क्यापिटल भवन घेराउ गरेर नाराबाजी गरेका थिए । उनीहरुले भवनलाई कब्जामा लिने प्रयास गरेका थिए । प्रहरीले कंग्रेस भवनभित्र पसी आक्रमणमा संलग्न भएको आरोपमा १३ जनालाई पक्राउ गरिसकेको छ । तीमध्ये पाँच जनाबाट बन्दुक जफत भएको जनाइएको छ ।

संसदभवन भित्र र बाहिर हिंसा भड्किएपछि वाशिङ्टनकी मेयर मुरियल बाउजरले निशेधाज्ञा जारी गरेकी छिन् । क्यापिटल बिल्डिङभित्र रहेका संवाददाताहरुलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार सुरक्षा प्रमुखले वाशिङ्टनमा निषेधाज्ञा लागेको खबर सुनाउँदा सांसदहरुले ताली बजाएका थिए ।

अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस भइरहेको बेला ट्रम्प समर्थकहरुले आक्रमण गरेका थिए । उनीहरुले राष्ट्रपति निर्वाचनमा केही राज्यको नतिजालाई अस्वीकार गर्दै आएका छन् ।

सदन चलिरहेकै बेला ट्रम्प समर्थक बैठकस्थलमा पुगेपछि बहस रोक्नु परेको थियो । ट्रम्पका समर्थकले चुनाव रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

संसद भवनभित्र गोली चलेको थियो । एउटा अग्निनियन्त्रक यन्त्र विष्फोट पनि भएको थियो । तर, त्यो कसले विष्फोट गरायो भन्ने खुलेको छैन ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यसलाई ‘विद्रोह’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, “यो कुनै विरोध होइन, यो विद्रोह हो । डोनाल्ड ट्रम्प अघि बढेर टीभीमा जाउ र यो घेराबन्दी अन्त्य गर्न लगाउ । अति भयो ।”

यसैबीच ट्रम्पले ट्विटरमा एक भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीलाई घर फर्कन आग्रह गरेका छन् । उनले भनेका छन्, “एउटा चुनाव भयो र त्यो हामीबाट चोरेर लगियो । त्यो भयंकर घटना थियो । यो कुरा दोस्रो पक्षलाई पनि थाहा छ । तर, अब हामीले शान्ति बनाउनुपर्छ । तपाईंहरुले घर जानुपर्छ । हामी कसैको क्षति होस् भन्ने चाहँदैनौँ ।” यो ट्विटलाई ट्विटरले सेयर, लाइक र रिट्विट गर्न बन्देज गरेको छ ।