एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३-२ ले विजयी भयो । बिल्बाओलाई हराएसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।