काठमाडौँ । उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले लोडसेडिङ नगरेको बिहीबार प्रेस विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ ।

प्राधिकरणका अनुसार, विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा  विद्युत् अवरोध भएको छ । गत वर्षको मंसिरमा ५७७ पटक ट्रिपिङ हुँदा ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।

प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषितरअघोषित रूपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनामा पोल तथा टान्सर्फमर सार्नु पर्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने उनको भनाइ छ ।

शाक्य भन्छन्, ‘‘अहिलेसम्मको तथ्यांक हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ । उनी भन्छन्, ‘‘विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ ।’’ प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ति जाँदैमा उपभोक्ताले त्यसलाई लोडशेडिङ भयो भनेर डराउनु नपर्ने पनि उनी बताउँछन् ।

प्रणालीमा पर्याप्त विद्युत् भएको र लोडसेडिङ इतिहास बनिसकेको पनि प्राधिकरणको भनाइ छ । ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न त्यहाँको ‘लोड’ अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको शाक्य बताउँछन् ।

स्थानीय रूपमा माग धान्न नसक्ने अवस्था (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको प्राधिकरणको दाबी छ ।

सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको  मर्मत सम्भारलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम घटेको छ । गत वर्षको मंसिरमा यी काम गर्न ४९१ पटक विद्युत आपूर्ति बन्द (सट डाउन) गरिएकोमा यस वर्ष ३६२ पटक मात्रै बन्द गरिएको प्राधिकरणको भनाइ छ ।

विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखिएको शाक्य बताउँछन् । मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको पनि उनले बताए ।