काठमाण्डौ । कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बस्ने धेरैलाई मानसिक अशान्ति भएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणमा यस्तो पाइएको हो ।

सर्वेक्षण गरिएकामध्ये ५८.२ प्रतिशतलाई होम आइसोलेशनका दौरान मानसिक अशान्ति भएको पाइएको छ । सर्वेक्षणमा सहभागीमध्ये ४२.८ प्रतिशतले छुट्टै बस्ने कोठा व्यवस्थापनमा समस्या भएको बताएका छन् । यस्तै २६.१ प्रतिशतलाई छुट्टै शौचालय प्रयोगमा समस्या देखिएको र २०.७ प्रतिशतलाई आवश्यक सामग्रीको व्यवस्थापन गर्न समस्या देखिएको  छ ।

होम आइसोलेशनमा बस्नेलाई परिवारको राम्रो साथ र सहयोग पाइएको पनि अनुसन्धानमा देखिएको छ । सर्वेक्षणमा सहभागी ५ प्रतिशतले मात्र परिवारको साथ नभएको बताएका थिए ।

यस्तै धेरै कोरोना सङ्क्रमितले घरेलु उपचार गरेको पाइएको छ । देशभर ५९.३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसारको प्रयोग गरेको पाइएको छ ।

यस्तै ५.६ प्रतिशतले आयुर्वेदिक उपचार र २९.६ प्रतिशतले आधुनिक औषधि उपचारको प्रयोग गरेको पाइएको छ । अनुसन्धानका क्रममा लक्षणसहितका संक्रमितमा ज्वरो, खोकी, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेसी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी दुखाइ, जोर्नी दुख्ने र वाकवाकी रहेको देखिएको थियो ।

अध्ययनमा सहभागी संक्रमितमध्ये ५२.५ प्रतिशतले परिवारसँग सामाजिक दूरी पूर्ण रूपमा र ३५ प्रतिशतले कहिलेकाहीँ सामाजिक दूरी कायम गरेकोसमेत पाइएको छ । संक्रमित भई उपचार गरिरहेकामध्ये ५९.३ प्रतिशतले घरेलु, ५.६ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले आधुनिक औषधि उपचार गरेको अध्ययनले देखाएको छ ।