एजेन्सी । ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट स्थायीरुपमा नै बन्द गरिदिएको छ ।

ट्रम्पका ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट सधैका लागि बन्द गरेको घोषणा गरेको हो । ट्वीटरले भनेको छ, “राष्ट्रपति ट्रम्पका हालैका ट्विटहरुलाई गहनपूर्वक समीक्षा गरियो र अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।”

गएको बुधबार अमेरिकी संसद भवनमा उनका समर्थकले हिंसा मच्चाएपछि उनले समर्थनमा ट्विट गरेका कारण १२ घन्टाका लागि एकाउन्ट बन्द गरिएको थियो । उनले उक्त घटनापछि आफ्ना समर्थकलाई ‘देशभक्त’ भन्दै ट्विट गरेका थिए ।

अकाउन्ट स्थायीरुपमै बन्द हुनुअघि ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नजाने ट्विटमार्फत जनाएका थिए । त्यसको केही समयपछि नै ट्विटरले उनको एकाउन्ट स्थायीरुपमा बन्द गरिदिएको हो ।

बिहीबार फेसबुकले पनि ट्रम्पको एकाउन्ट अनिश्चितकालका लागि निलम्बनको घोषणा गरेको थियो ।