काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला छेउछाउको सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोतका कर्मचारीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खोलामा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २८ र २३ मा रहेको तत्कालिन हरिसिद्धी गाविस वडा नम्बर १ तथा धापाखेल वडा नम्बर १ मा पर्ने जग्गा हिनामिना भएको हो।

जग्गा हिनामिनामा नापी कार्यालय ललितपुरका तत्कालिन प्रमुख वद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालिन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र र खरिदार आत्माराम लुईटेलको संलग्नता रहेको आयोगले जनाएको छ ।

यूरो हाउजिङ डेभलपर्सका कम्पनीका सञ्चालकहरुले जग्गा हिनामिनाको योजना बनाएका थिए । सो कम्पनीका सञ्चालकहरु गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरविरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य, डा‍. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध समेत मुद्दा दायर भएको छ ।

सबैलाई दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयँ ८८ पैसा बिगो दाबी गरी मुद्दा दायर भएको छ। उनीहरुले सो जग्गा प्लटिङ गरी विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए । जग्गा किन्ने ३३ जनाविरुद्ध भने जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र मुद्दा दायर भएको छ ।