एजेन्सी । गएको हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवन क्यापिटल हिल्समा हिंसा मच्चाएपछि डेमोक्र्याट सांसदहरुले उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाभियोग प्रस्तावमा ट्रम्पविरुद्ध विद्रोह भड्काएको र अमेरिकी संसदमा भएको हिंसालाई प्रोत्साहन दिएको आरोप लगाइएको छ । उनीविरुद्धको महाभियोग प्रस्तावमा छलफल र मतदानका लागि बुधबार बिहान ९ बजे हाउस अफ रिप्रिजेन्टेटिभको बैठक बस्नेछ ।

संविधानको २५औं संशधोनमार्फत ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आह्वान गर्ने प्रस्ताव हाउस अफ रिप्रिजेन्टेटिभमा पेस भएको थियो । यो संसोधनले राष्ट्रपति आफ्नो कर्तव्य जारी राख्न असमर्थ भए उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बन्ने अनुमति दिन्छ । माथिल्लो सदन सिनेट बैठकको अध्यक्षता पनि उपराष्ट्रपतिले नै गर्छन् ।

तर, उक्त प्रस्तावको वेस्ट भर्जिर्नियाका रिपब्लिकन सांसदले आपत्ति जनाएपछि हाउस अफ रिप्रिजेन्टेटिभको बैठक सुरु भएको १० मिनेटमै स्थगन भएको थियो । त्यसपछि ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको हो ।

सभामुख नैन्सी पेलोसी र डेमोक्र्याटिक सांसदहरु यसअघि नै ट्रम्पलाई ह्वाइट हाउसबाट बाहिर निकाल्न चाहन्थे । पछिल्लो घटनापछि केही रिपब्लिकन सांसद पनि ट्रम्पलाई महाभियोग लगाउने पक्षमा छन् । यसपटक सभामुख पेलोसीकै पहलमा महाभियोग दर्ता भएको हो ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट लगाइएको महाभियोग बहुमतले पारित हुनुपर्छ । त्यहाँ डेमोक्र्याटहरुकै बहुमत छ । त्यसपछि माथिल्लो सदन सिनेटमा पनि छलफल हुन्छ । त्यहाँबाट महाभियोग प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक हुन्छ । यहाँ भने रिपब्लिकनहरुको बहुमत छ । तर, केही रिपब्लिकन सांसद ट्रम्पको विरुद्धमा छन् ।

अमेरिकाको इतिहासमा ट्रम्प दुई पटक महाभियोग खेप्ने एक्ला राष्ट्रपति भएका छन् ।  अघिल्लोपटक महाभियोग लगाउँदा संसदले असफल पारे पनि उक्त प्रक्रिया पूरा हुना महिनौँ लागेको थियो । तर, यसपटक नौ दिन मात्र बाँकी छ ।

ट्रम्पको कार्यकाल आगामी २० जनवरीमा सकिँदैछ । त्यसपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नेछन् ।