काठमाडौं । परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको बिहीवारबाट सुरु हुने भारत भ्रमण कोभिड १९ सहकार्य र नेपाल भारत सीमासहितका विषयमा केन्द्रीत हुने जानकारी दिएको छ ।

मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले मन्त्री ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबारदेखि शनिबारसम्म भारतको भ्रमण गर्ने जानकारी दिएको हो ।

सीमा विवाद र अतिक्रमणको विषयमा नेपालले पटक पटक कुरा गर्न खोजे पनि भारतले आलटाल गर्दै आएकोमा बल्ल भारत वार्ताका लागि राजी भएको हो । साथै, नेपालमा प्रतिनिधिसभाको विघटनपछि विकास नेपालमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको बेला हुन लागेको परराष्ट्रमन्त्रीको भ्रमण निकै अर्थपूर्ण रहेको धेरैको विश्लेषण छ ।

नयाँ दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले आफ्ना समकक्षीसँगै उच्चस्तरीय भेटवार्ताहरू गर्ने छन् । छैटौं पटक हुन लागेको संयुक्त आयोगको बैठकमा सीमा विवादका साथै व्यापार, पारवहन, उर्जा, सीमा, कोभिड–१९ सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने जनाइएको छ ।

मुख्य विषय भारतले अतिक्रमण गर्दै आएको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सुरक्षाकर्मीलाई फिर्ता गराउनेसम्वन्धमा नै केन्द्रित हुने देखिन्छ । मन्त्री ज्ञवालीसँग परराष्ट्र मन्त्रालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिवसहित अरू अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतले भने नेपाललाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउनसक्ने अडकल गरिएको छ । भारतबाट खोप ल्याउने स्वास्थ्यमन्त्रीका अभिव्यक्तिले पनि त्यसको संकेत गरेको छ ।