काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।

यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए ।

अहिलेसम्म कुन–कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले नै गर्दै आएका थिए । तर, अब उपकरणमार्फत हुनेछ । उनले भने, “अहिलेसम्म ट्राफिक प्रहरीले सवारी चाप हेरेर कतातिरको सडकमा हरियो बत्ती कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे । यही काम अब उपकरणले गर्नेछ ।”

विभागले नेपलमा पहिलोपटक स्मार्ट ट्राफिक बत्ती व्यवस्थापन शुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ । डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ ।

एक दशक पहिले काठमाडौँ उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्षदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ। चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ ।

उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन् । ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ ।