काठमाडौँ । पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ ।

बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ ।

भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर चोरी भएको हो । बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना भएको पनि नवभारत टाइम्सले उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन् । पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए ।