काठमाडौं । नेपाल सरकारले भारतका ‘कोभिसिल्ड’ खोपलाई मान्यता दिने भएको छ ।

औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको शेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।

विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार विभागको आज बसेको बैठकले कोभिसिल्डलाई मान्यता दिने निर्णय गरेको हो ।

नेपालमा अब यो खोप भित्र्याउनका लागि जीटूजी र निजी दुवै क्षेत्रलाई वैधानिक बाटो खुलेको केसीले बताए । कोभिसिल्डलाई भारतले जनवरी ३ मा नै मान्यता दिइसकेको छ । यस खोपको दुई डोज चार देखि १२ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।