काठमाडौं । नेपाल सरकारले सबै सार्वजनिक सेवाहरु एउटै एपबाट दिनेगरी ‘नागरिक एप’ सार्वजनिक गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरे ।

नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एप ल्याइएको मन्त्री गुरुङले जानकारी दिए । सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उनको भनाइ छ ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत् प्रयोग गर्न सकिने जनाइएको छ । सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । तीन वर्षपछि यसले पूर्णता पाएको हो ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताएका छन् ।

एप्स सार्वजनिक भएको अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एपमा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने बताए । उक्त एप बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उनले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, “परीक्षणका रुपमा नागरिक एप प्रक्षेपण भएकोमा खुशी लागेको छ । हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य हो । सरकार नागरिकलाई सबै सेवा सरल र सहजरुपमा दिन तत्पर रहँदै आएको छ । यसको प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास पनि लिएको छु ।”

नागरिकता, पासपोर्ट र भोटिङ कार्डसँग लिंक
नेपाल सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने लक्ष्यबमोजिम सरकारी सेवाहरू प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

नागरिक एपका लागि गृह मन्त्रालयसँग रहेको २ करोड १५ लाख नागरिकताको विवरण, निर्वाचन आयोगसँग रहेको १ करोड ५५ लाख नागरिकका औँठा छाप र फोटोसहितको विवरण, राहदानी विभागसँग रहेको राहदानीको प्रयोग गरेर नागरिकको डिजिटल परिचय बनाइएको हो । मन्त्रालयका अनुसार यसलाई राष्ट्रिय परिचयपत्रसँग समेत जोडिनेछ ।

बिदामा पनि सरकारी सेवा
‘लाइन होइन्, अनलाइनबाट २४सै घन्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत निकट भविष्यमै ४० भन्दा बढी सरकारी सेवा लिन सकिने मन्त्रालयले जनाएको छ ।

यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाका दिन पनि सेवा लिन सकिने मन्त्रालयले उल्लेख गरेको छ । नागरिक एपबाट प्रवाह गरिने सरकारी सेवाहरू पारदर्शी, भरपर्दो र सुरक्षित हुने मन्त्रालयको दाबी छ ।