काठमाडौं । भारतले नेपाललाई कोभिड–१९ विरुद्धको १० लाख डोज खोप (भ्याक्सिन) उपलब्ध गराएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृयदेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बोलेका थिए ।

भारतले अनुदानमा दिन लागेको उक्त खोप बिहीबार नेपाल आईपुग्ने जनाइएको छ । उक्त खोप अग्रभागमा खटिनेहरुलाई प्राथमिकता दिईने पनि उनीहरुले बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै मित्र राष्ट्रहरुलाई सहयोग स्वरुप भ्याक्सिन प्रदान गर्न लागिएको जानकारी दिएका थिए ।

भारतको विदेश मन्त्रालयले पनि मंगलबार विज्ञप्तिमार्फत् भ्याक्सिन अनुदानस्वरुप दिन लागेको देशको सुची सार्वजनिक गरेको थियो । जसमा पहिलो नम्बरमा भुटान, दोस्रोमा मालदिभ्स, तेस्रोमा बँगलादेश र चौंथोमा नेपालको नाम रहेको थियो ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।