काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको पनि बताए ।

“देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उनले भने “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनौँ । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।”

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार: स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा: प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्रीलगायतको सहभागिता थियो ।