काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । उपत्यकाका १७ अस्पताल र देशभरका १ सय २० केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे गर्ने खोप कार्यक्रम शुरु गर्नेछन् । काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र बनाइएको छ । काठमाडौंमा शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी अस्पताल, शहीद गङ्गालाल अस्पताल लगायत छन् ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् । भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा पनि केन्द्र बनाइएको छ । यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय केन्द्रमार्फत करिब ४ लाख ३० हजार नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारी र दोस्रो डा अनुप बाँस्तोलाले लगाउने गरी मन्त्रालयले सूची बनाएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपको १० लाख डोज नेपाल आएको छ । खोप सबै प्रदेशमा पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।​

कसले नलगाउने
उच्च ज्वरो, रगतसम्बन्धि रोग, रगत पातलो बनाउने औषधि सेवन गरिरहका वा रोग प्रतिरक्षा शक्ति कमजोर भएका वा औषधि लिइरहेकालाई पनि यो खोप लगाइनेछैन ।​

गर्भाधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन भनिएको छ । यस्तै कोभिड १९ विरुद्ध अन्य खोप लगाइरहेका व्यक्ति, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, कुनै औषधि, खोप, खानेकुरा आदिबाट कहिल्यै गम्भीर एलर्जी भएका व्यक्तिले पनि यो खोप लगाउनु हुँदैन । गम्भिर प्रकृतिका विरामी क्यान्सर, मुटु रोगीले पनि यो खोप लगाउन नहुने विज्ञको भनाइ छ ।

खोपको असर
यो खोप लगाएका १० जनामध्ये १ जनालाई खोप लगाएको ठाउँमा दुख्ने, तातो अनुभव हुने, रातोपन हुने, गिर्खा हुने, बिरामी भए जस्तो अनुभव हुने, थकाइ लाग्ने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने तथा रुघाका लक्षण देखिने हुन सक्ने जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे बताउँछन् । यस्तै १ सय मध्ये एक जनालाई रिंगटा लाग्ने, भोक नलाग्ने, पेट दुख्ने, लिम्फ नोड सुन्निने, धेरै पसिना आउने, चिलाउने, बिमिरा आउने असर पनि देखिन सक्छ ।

खोप लगाइसकेपछि २ देखि १४ दिनसम्म लक्षण देखिन सक्छ, ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने असर पनि देखिने गर्छ । कोरोना विरुद्धको खोप प्रयोग गर्दा सिकिस्त वा मृत्यु हुने सम्भावना भने निकै कम छ ।