काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार माघ १९ गते पार्टीका भ्रातृ संगठनहरू, २४ गते पार्टीका शुभेच्छुक संगठनहरू र ३० गते कांग्रेस जिल्ला कार्यसमितिहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा गर्नेछन् ।

केन्द्रीय समितिले तय गरेका आन्दोलनका कार्यक्रमबाहेक भ्रातृ संगठन, जिल्ला समिति तथा शुभेच्छुक संगठनहरूले आवश्यकता अनुसार विरोधका कार्यक्रम गर्न सक्ने निर्णय बैठकले गरेको जानकारी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले गराए ।

बैठकले कांग्रेसका केही भ्रातृ संगठनका कार्य समितिको म्याद थप गरको छ । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी र जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज कार्य समितिको अवधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय सर्वसम्मतबाट गरिएको प्रवक्ता शर्माले जानकारी गराए ।