काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुभराम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उनको भनाइ छ । उनीसँगै डा‍. अनुप बाँस्तोला र डा. रुना झाले पनि कोरोना खोप लगाएका छन् ।

यससँगै देशैभर कोरोना खोप अभियान सुरु भएको छ । उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोना खोप दिइनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

कसले नलगाउने
उच्च ज्वरो, रगतसम्बन्धि रोग, रगत पातलो बनाउने औषधि सेवन गरिरहका वा रोग प्रतिरक्षा शक्ति कमजोर भएका वा औषधि लिइरहेकालाई पनि यो खोप लगाइनेछैन ।​

गर्भाधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन भनिएको छ । यस्तै कोभिड १९ विरुद्ध अन्य खोप लगाइरहेका व्यक्ति, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, कुनै औषधि, खोप, खानेकुरा आदिबाट कहिल्यै गम्भीर एलर्जी भएका व्यक्तिले पनि यो खोप लगाउनु हुँदैन । गम्भिर प्रकृतिका विरामी क्यान्सर, मुटु रोगीले पनि यो खोप लगाउन नहुने विज्ञको भनाइ छ ।

खोपको असर
यो खोप लगाएका १० जनामध्ये १ जनालाई खोप लगाएको ठाउँमा दुख्ने, तातो अनुभव हुने, रातोपन हुने, गिर्खा हुने, बिरामी भए जस्तो अनुभव हुने, थकाइ लाग्ने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने तथा रुघाका लक्षण देखिने हुन सक्ने जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे बताउँछन् । यस्तै १ सय मध्ये एक जनालाई रिंगटा लाग्ने, भोक नलाग्ने, पेट दुख्ने, लिम्फ नोड सुन्निने, धेरै पसिना आउने, चिलाउने, बिमिरा आउने असर पनि देखिन सक्छ ।

खोप लगाइसकेपछि २ देखि १४ दिनसम्म लक्षण देखिन सक्छ, ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने असर पनि देखिने गर्छ । कोरोना विरुद्धको खोप प्रयोग गर्दा सिकिस्त वा मृत्यु हुने सम्भावना भने निकै कम छ ।