एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको मुख्य प्रशिक्षकमा थोमस टुचेल नियुक्त भएका छन् । चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि टुचेललाई नियुक्त गरेको हो ।

चेल्सीले टुचेललाई १८ महिनाको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । तर, चेल्सीले उनलाई सम्झौता बढाउनको लागि बिकल्प समेत दिएको छ ।

पेरिस सेन्ट जर्मेनका पूर्व प्रशिक्षक टुचेल सन् २००३ पछि चेल्सीको प्रशिक्षक हुने ११ औं प्रशिक्षक हुन् । मुख्य प्रशिक्षक नियुक्त भएपछि टुचेलले नयाँ टिमसँग काम गर्न निकै उत्साहित भएको बताए ।

‘मेरो नयाँ टिमसँग भेट्न निकै आतुर छु । प्रतिस्पर्धात्मक लिगका लागि उत्साहित छु । चेल्सी परिवारको सदस्य हुन् पाउँदा आभारी छु’, ४७ वर्षीय टुचेलले भने ।

जर्मन प्रशिक्षक टुचेलले पीएसजीलाई २ पटक लिगको उपाधि दिलाएका थिए । यस्तै फ्रेन्च कप र फ्रेन्च लिग कप समेत जिताएका छन् । पीएसजी अघि उनले जर्मनीको बोरुसिया डर्टमण्ड र मैन्जको टिम हेरेका थिए ।