काठमाडौँ । संवैधानिक निकायमा सिफारिश गरिएका पदाधिकारीहरुले शपथ लिएका छन् ।

बुधबार बिहान राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक निकायका अध्यक्षहरुलाई शपथ ग्रहण गराएका छन् । त्यसपछि संवैधानिक निकायका अध्यक्षहरुले सदस्यहरुलाई शपथ गराएका छन् ।

संवैधानिक निकायमा सिफारिश भएका ४५ जनामध्ये ३८ जनाले शपथ लिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ जनाको संसदीय सुनुवाइका लागि ५ पुसमा संघीय संसद्मा पठाइएको थियो । तर, प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ हुन नसक्ने जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सिफारिसलाई फिर्ता पठाएका थिए ।

संवैधानिक निकायमा सिफारिश भएका व्यक्तिहरुको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । संसदीय सुनुवाइ हुन नसकेपछि उनीहरुलाई स्वतः नियुक्त गरिएको हो ।