काठमाडौं । नेपालमा थप १३ जनामा कोरोनाभाइरसको नयाँ प्रजाति देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो । उनमा ‘एस जिन’ देखिएको थिएन ।

ती व्यक्तिको सम्पर्कमा आएका १२ जनाको नमुना परीक्षण गरिएको थियो । शनिबार १२ जनाकै नतिजामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको डा. पौडेलले बताए ।

युके भेरिएन्ट भाइरसमा पनि ‘एस जिन’ देखिँदैन । त्यसैले उनीहरूमा अहिले देखिएको भाइरस पनि युके भेरिएन्ट हुन सक्ने चिकित्सकहरूको अनुमान छ । नेपालमा पहिलोपटक गएको पुस २७ गते तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए ।

नयाँ प्रजातिको कोरोनाभाइरस पहिचानका लागि जिन सिक्वेन्सिङ गर्नुपर्ने भए पनि नेपालमा यो परीक्षणा सेवा उपलब्ध नभएका कारण यसअघि तीनजनाको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो ।