काठमाडौं । काठमाण्डौ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।

राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो ।

‘राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरू र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरूको आग्रहमै सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ उनले बिस्तारै बसपार्क पनि खुला गर्ने जनाएका छन् ।

‘काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताए । उनले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, र्‍याली, आमसभा लगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताए ।