भरतपुर । मगर संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले रफ्तार मिडिया प्रालिले मिर्ही (भाग्य) चलचित्र निर्माण गरेको छ । बुधबार चितवनमा आयोजित कार्यक्रममा चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिएको छ ।

नयाँ पुस्तामा आफ्नै संस्कृतिबारे समेत चासो र रुचि घट्दै गएकाले उनीहरूमा संस्कृतिबारे चासो बढाउन चलचित्रले सहयोग गर्ने निर्माताको भनाइ छ । चलचित्रका लेखक, निर्देशक, निर्माता एवं नायकसमेत रहेका रमेश रानामगरले चितवनका मगर समुदायलाई कलाकार बनाएर चलचित्र बनाएको बताए ।

मगर समुदायको सिनेमा भए पनि भाषा भने नेपालीमै छ । यसकारण अन्य समुदायका दर्शकले पनि चलचित्रबाट मनोरञ्जन प्राप्त गर्ने राना बताउँछन् ।

यो चलचित्र पहिलो चरणमा चितवनका ४४ वटा गुठीसहित मगर समुदायको बहुल्यता रहेको ठाउँमा प्रदर्शन गरिनेछ ।चलचित्र निर्माणमा १४ लाख रुपैयाँ खर्च भएको छ र १५ दिनमा छायांकन सकिएको निर्माता रमेश रानामगरले बताए ।

चलचित्र एक घन्टा ३८ मिनेटको छ । उनका अनुसार चलचित्र चितवन, तनहुँ, कास्कीलगायतका ठाउँ छायांकन भएको छ । चलचित्रलाई पछि मगर भाषामा पनि डब गर्ने योजना रहेको छायांकन सम्पादन घना गुरुङले बताए ।