काठमाडौँ । इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा बढाएका छन् ।

वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यको उडानमा तय गरेको भाडा साबिकको तुलनामा रु.१५ देखि रु.९० सम्मले बढेको एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । बढेको भाडादार आइतबारदेखि लागू हुने भएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार सबैभन्दा बढी काठमाडौंबाट धनगढी जाने गन्तव्यमा बढाइएको छ । काठमाडौंबाट धनगढीका लागि रु.९० बढेको संघले जनाएको छ ।

संघका अनुसार सबैभन्दा कम रु.१५ मात्रै बढेको गन्तव्यमा काठमाडौं–सिमरा, नेपालगन्ज–दाङ, विराटनगर–राजविराज, दाङ–चौरजहारी, दाङ–रुकुम, धनगढी–डोटी, डोल्पा–रुकुम (सल्ले), महेन्द्रनगर–डोटी, नेपालगन्ज–दाङ, नेपालगन्ज–सुर्खेत, पोखरा–विराटगनर, पोखरा–जोमसोम र सुर्खेत–चौरजहारी छ ।

हवाई इन्धनको मूल्य रु.२ ले बढ्दा वायुसवा कम्पनीले भने रु.९० सम्मले हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यको उडानमा तय गरेको भाडा साबिकको तुलनामा रु.१५ देखि रु.९० सम्मले बढेको छ ।

माउन्टेन फ्लाइटका लागि रु.७० बढेको छ । काठमाडौंबाट हुने उडानमा आइतबारदेखि नेपालगन्जको रु.६५, भद्रपुरको रु.६०, विराटनगरको रु.४५, भैरहवाको रु.४५, तुम्लिङटारको रु.४०, पोखराको रु.३०, जनकपुरको रु.२५ र भरतपुरको रु.२० थप भाडा तिर्नुपर्नेछ ।

वायुसेवा सञ्चालक संघले काठमाडौंबाट बाहिरिने र भित्रिने तथा काठमाडौबाहिरका १०२ गन्तव्यमा हुने वायुसेवाका उडानको लागि थप हुने इन्धनको शुल्क सार्वजनिक गरेको छ । संघले नियमित उडान हुने र नहुने सबै गन्तव्यका लागि बढेको इन्धन शुल्क सार्वजनिक गरेको हो ।

संघले हवाई इन्धनको मूल्य बढेपछि इन्धन शुल्कका नाममा हवाई भाडा बढाएका छन् । आयल निगमले ४ फागुनदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर रु.२ बढाएको थियो । सोही मूल्यको अनुपातमा हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ त्यसैको अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने २७ जेठ २०७५ को निर्णय भएको संघले जनाएको छ ।

त्यहीअनुसार संघमा आबद्ध वायुसेवा कम्पनीले ८ फागुनदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरेका छन् । वायुसेवा कम्पनीले इन्धनको मूल्य बढेका कारण सोही अनुपातमा इन्धन शुल्क बढाउने गरी हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति समेत लिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए ।