काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ति निकालेर पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

सरकारले यस अघि नै विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइसकेको छ । यस अघि खानेपानी मन्त्री मणि थापाले नख्खु कारागार गएर चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई भेट गरेका थिए । सरकारले दुई वर्ष अघि नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।