काठमाडौं । सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार (ल्यान्ड मार्केट) स्थापना गरी आधिकारिक निकाय तोकिने जानकारी दिए । यो प्रक्रिया कार्यान्वयनमा आइसकेपछि जग्गा किन्ने, बिक्री गर्ने मान्यता प्राप्त निकायबाहेक व्यक्तिले व्यक्तिलाई जग्गा बिक्री गर्न पाउने छैनन् ।

‘यस्तो व्यवस्था कार्यान्वयन भए घरजग्गा किनबेच हुँदा हुने अनियमितता रोकिनेछ’, उनले भने । भूमि बजार कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषय टुंगो लागेको छैन । ‘मन्त्रालयअन्तर्गत रहने या छुट्टै निकाय रहने वा त्यसको जिम्मा निजी क्षेत्रलाई दिने भन्नेमा अध्ययन भइरहेको छ’, उनले भने । भूमि बजार सञ्चालन गर्न कार्यविधि, ऐन, नियम र संरचना कस्तो बनाउने भन्नेमा प्रारम्भिक छलफल सुरु भएको छ ।

भूमि बजारका लागि मन्त्रालयले समिति बनाएर थप अध्ययन गरिरहेको छ। जग्गा खरिद बिक्रीमा दलाल प्रवृत्ति निकै हाबी छ। उनीहरूले सर्वसाधारणलाई ठग्नुका साथै राजस्व पनि चुहावट भइरहेको छ । अब जग्गा किन्न र बेच्न इच्छुक व्यक्तिले सरकारले तोकेको आधिकारिक संस्थामा जानुपर्छ । खरिदकर्ताले आफूलाई पायक पर्ने र मनपर्ने स्थानमा सहजै जग्गा खरिद गर्न पाउनेछन् । बिक्री गर्ने व्यक्तिले पनि उक्त निकायमार्फत सहजै जग्गा बिक्री गर्न सक्छन् ।