काठमाडौँ । मेघा अस्पतालले धादिङ्ग को बिकट रुभी भ्याली गाउपालिकामा ग्रामिण सोशियल पोलिक्लिनिक स्थापना गरेको छ । ‘सेवा नै धर्म हो, स्वास्थ्य नै धन हो’ भन्ने मुल नारासहित मेघाले गाउपालिकाको वडा न. ४ बोराङ्गमा स्वास्थसेवा सुरु गरेको हो ।

गाउँ गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने उदेश्यका साथ खोलिएको उक्त पोलिक्लिनिकको उद्घाटन पुर्वगृहमन्त्री बुद्दिमान तामाङ्ग र मेघा अस्पतालका अध्यक्ष किशोर जङ्ग राणाले गरेका थिए । उद्घाटन गर्दै पूर्वमन्त्री तामाङ्गले स्वास्थ्य उपचार पाउनबाट अब कोही पनि बन्चित हुनुनपर्ने बताए । उनले सरकारले ल्याएको स्वास्थ्य नीति र अस्पतालहरुले गरेको स्वास्थ्य सेवा विस्तारले बिकट क्षेत्रका बासिन्दाको स्वास्थ्यमा सहजता ल्याएको पनि बताए ।

मेघा अस्पातालका अध्यक्ष राणाले स्वास्थ्य सेवा विस्तारले बढी खर्च गरेर सामान्य चेकजाँचका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले बिकट ठाउँमा स्वास्थ्य सेवा नपुगेर उपचारबाट बन्चित भएका नागरिकको सेवाको लागि पोलिक्लिनिक खोलिएको पनि बताए । नागरिकलाई उपचार मात्रै हैन रोग लाग्नै नदिन स्वास्थ्य सम्बन्धि सचेतना गराउने उद्देश्यले पनि ग्रामिण सोशियल पोलिक्लिनिक ल्याएको बताए ।

मेघा अस्पतालका डाक्टर तथा अस्पतालका टिमद्वारा गत फाल्गुन १५ र १६ गते पोलिक्लिनिक सुरुवात गरी बृहत स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो । शिविरमा ३७५ जना भन्दाबढी बृद/बृदाहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका थिए । स्वास्थ्य सेवा घर आगँनमै आएकोमा पनि स्थानीय खुसि थिए ।

यस्तै मेघा अस्पतालले स्वास्थ्य सेवा मात्रै नभई सामाजिक कार्य पनि गर्दै आएको छ । अस्पतालले त्यहाँका स्थानीयलाई न्यानो कपडा वितरण गरेको छ । विपन्न नागरिकलाई स्वास्थ्य जाँचका साथै ओड्ने कपडा पनि बाडेको हो ।