एजेन्सी । प्रक्षेपण असफल भएको रसियाको एक रकेटको भग्नावशेष खस्ने क्रममा प्रशान्त महासागरमा छरिएको छ । रुसी समाचार निकाय तासका अनुसार गत डिसेम्वरमा प्रक्षेपित रुसको आन्गारा – ए५ रकेटको केही भाग खसेको हो ।

खगोलविद् जोनाथम म्याकडोवेलले त्यो रकेट हजारौं वर्षका लागि पृथ्वीको कक्षमा राख्ने उदेश्यले प्रक्षेपण गरिएको अमेरिकी संचार माध्यम सीएनएनलाई बताएका छन् । दुर्घटनाग्रस्त भई पृथ्वीतर्फ खसेको रकेटको भग्नावशेव अनियन्त्रित गतिमा प्रशान्त महासागर माथिको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो ।

तासका अनुसार पहिलो पटक गत २७ डिसेम्वरमा उत्तर पश्चिमी रसियाको प्लेसेत्सक अन्तरिक्ष वन्दरगाहबाट आन्गारा – ए५ रकेटमा रकेटको माथिल्लो भाग पर्सेइ वूस्टरलाई प्रक्षेपण गरिएको थियो । अठारौं स्पेश कन्ट्रोल स्टेसनले रकेटको माथिल्लो भाग पृथ्वीमा खसेको पुष्टि गरिसकेको छ ।

युरोपेली अन्तरिक्ष निकायले समेत पृथ्वीको वायुमन्डलमा पुनः प्रवेश गर्ने क्रममा त्यो रकेटको भाग साढे सात किलोमिटर प्रति सेकेन्डको गतिमा झरेको इन्साइडरलाई बताएको छ । तर, भग्नावशेष यकिन रुपमा कहाँ खस्यो भन्ने स्पष्ट हुन सकेको छैन ।