काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाएको छ । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइरहेको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउन लगाएका हुन् ।

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेर श्रम डेस्क हटाए । अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । अब अध्यागन विभागका कर्मचारीले नै श्रम स्वीकृतिको जाँच गर्नेछन् ।

देशिक रोजगारीमा जान श्रमिकले एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने व्यवस्थालाई विभेदपूर्ण भन्दै आलोचना भएको थियो । वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थानद्धारलाई सीमित गरिएका कारण प्रवेश गर्न समेत श्रमिकले घन्टौं लाइन बस्नु पर्ने बाध्यता थियो ।

सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानविन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो यत्रतत्र थियो ।