काठमाडौं । रुसका सरकारी मिडियाका युट्युब च्यानलमाथि युट्युबले प्रतिबन्ध लगाएको छ । सबैलाई थाहा भएका तथा वास्तविक हिंसात्मक घटना तथा समाचारहरुलाई अस्विकार गर्ने, न्यूनीकरण गर्ने तथा तुच्छ बनाउने गतिविधिमा संलग्न रहेको भन्दै त्यस्ता गतिविधिलाई निषेध गर्ने आफ्नो नीति अनुसार रुसी सरकारको आर्थिक सहयोगमा चलेका मिडियाहरुका युट्युब च्यानललाई विश्वव्यापी रुपमा प्रतिबन्ध लागेको हो ।

युट्युबका अनुसार युक्रेनमा भैरहेको रुसी आक्रमण कम्पनीको हिंसात्मक घटना नीति अन्तरगत पर्दछ र यस्तो नीति उल्लंघन गर्ने सामाग्रीहरुलाई हटाइनेछ । रुसी मिडियामाथिको प्रतिबन्ध सोही नीति अनुरुप भएको युट्युबका प्रवक्ता फर्शाद शादलुले बताएका छन् ।

यसअघि युट्युबले रुसी सरकारी मिडियाहरु आरटी र स्पुतनिकलाई युरोपभर प्रतिबन्ध लगाएको थियो । रुसी मिडियामाथि एप स्टोर, अन्य सोसल मिडिया तथा अन्य विभिन्न सञ्चार वितरकहरुले पनि प्रतिबन्ध लगाएका छन् र यस्तो प्रतिबन्धलाई गैरन्यायिक भएको रुसी सञ्चारमाध्यमको गुनासो छ ।

रुसी मिडिया स्पुतनिकले भनेको छ– युट्युबले लगाएको बन्देज प्रजातान्त्रिक समाजको मुख्य सिद्धान्तको रुपमा रहको प्रेस स्वतन्त्रतामाथिको क्रूर आक्रमण हो ।