काठमाडौं । स्थानीय तह चुनावका लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको भर्ना खोलेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रहरीले आउँदो वैशाख ३० गते हुने स्थानीय चुनावका लागि म्यादी प्रहरीको भर्ना खोलेको हो।
काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) र जिल्ला प्रहरी कार्यालय सबैबाट दरखास्त फारम पाइने र त्यही बुझाउने कार्यालयले जनाएको छ।
दरखास्त चैत ६ गतेदेखि ११ गते सम्ममा दिन सकिनेछ। सार्वजनिक बिदाबाहेक अरू दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्ममा फारम लिन र दिन सकिनेछ।
म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
म्यादी प्रहरीको सेवा सुविधा नेपाल प्रहरीका जवान सरह हुने बताइएको छ। म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो।