हेग । हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न आदेश दिएको छ। युक्रेनले आफ्नो पूर्वी भागका रुसी भाषी जनताको आमहत्या गरेकाले युद्ध सुरु गरिएको भन्ने रुसको जिकिरलाई आईसीजे खारेज गरिदिएको छ।

र, यो आदेश बाध्यकारी छ। १५ मध्ये १३ न्यायाधीशले सहमति जनाएको यो फैसलामा भनिएको छ, ‘रुसी फेडरेशनले युक्रेनी क्षेत्रमा सन् २०२२ फेब्रुअरी २४ देखि गरेको सैनिक कारबाही तुरुन्त बन्द गर्नुपर्छ।’ चीन र रुसका दुई न्यायाधीशले भने फैसलामा असहमति जनाएका छन् ।

अदालतको अध्यक्षता गरेकी अमेरिकी न्यायाधीश जन डनह्युले युक्रेनका रुसीभाषी नागरिकहरूको नरसंहार भएकाले हमला गर्नुपरेको भन्ने मस्कोको दाबी पुग्ने प्रमाण नभेटिएको बताइन् ।

राष्ट्रसंघको एक अङ्ग रहेको यो न्यायालयको आदेश उल्लंघनले गरिरहे रुस अझ एक्लिँदै जाने बताइन्छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय न्यायालयमा रुसविरूद्ध युक्रेनले पूर्ण विजय हासिल गरेको छ। आईसीजेले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न आदेश दिएको छ। अन्तर्राष्ट्रिय कानुनअनुसार यो आदेश बाध्यकारी छ। रुसले यो आदेश तुरुन्त मान्नु पर्छ। यो आदेश नमान्ने हो भने रुस अझ एक्लिँदै जानेछ।’

युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा यही फेब्रुअरी २६ मा मुद्दा दायर गरेको थियो।

यसअघि रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा राष्ट्रसंघ सुरक्षा परिषद्‍मा भत्सना प्रस्ताव पास गर्न मतदान भएको थियो। तर रुसले भिटो प्रयोग गरी उक्त प्रस्ताव पास हुन दिएन।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये ११ ले प्रस्तावको पक्षमा भोट दिए भने चीन, भारत र यूएई मतदानमा सहभागी भएनन् । सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एकले भिटो प्रयोग गरे कुनै पनि प्रस्ताव पारित हुँदैन।

स्थायी सदस्यमा रुस, चीन, अमेरिका, बेलायत र फ्रान्स छन् । युक्रेनमाथि भइरहेको रुसी हमलाको विश्वव्यापी रूपमा विरोध भइरहेको छ। रुसमा पनि हमलाको विरोध भएको छ ।

सन् १९९१ मा सोभियत संघको पतनपछि स्वतन्त्रता प्राप्त गरेको युक्रेन भूगोलका हिसाबले युरोपमा रुसपछिको दोस्रो ठूलो देश हो। युरोपेली सङ्घ र पश्चिमी युरोपसँग घनिष्ठता बढाएपछि रुसी आक्रमणको सामना गरिहेको युक्रेन कृषि, उद्योग, विज्ञान प्रविधिलगायत धेरै क्षेत्रमा अब्बल देश हो।

स्वतन्त्रता प्राप्त गरे पनि सन् १९९१ देखि सन् १९९४ सम्म युक्रेनी राष्ट्रपति बनेका लियोनिड क्राभ्चुक र सन् १९९४ देखि सन् २००५ सम्म राष्ट्रपति बनेका लियोनिड कुच्मा पनि सोभियत सङ्घ विघटन भएपछि स्थापित रुसी महासङ्घकै समर्थक थिए।

सन् २००० मा कुच्माले एकजना पत्रकार गियोर्गी गोङ्गाज्देलाई अपहरण गरी हत्या गर्न निर्देशन दिएको क्यासेट बाहिरिएसँगै वर्तमान सत्ताप्रति असन्तुष्टि बढ्दै गयो।

सन् २००४ मा राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार भिक्टर युश्चेन्कोको चुनाव हुनु केही महिनाअघि विष खुवाएर हत्या प्रयास भएको थियो। ३१ अक्टोबर २००४ मा भएको पहिलो चरणको निर्वाचनमा कुच्माले उत्तराधिकारी निर्धारण गरेका भिक्टर यानुकोभिच र युश्चेन्कोले समान ३९ प्रतिशत मत प्राप्त गरेर दोस्रो चरणको निर्वाचनका लागि छनौट भए ।

यद्यपि नोभेम्बर २१ मा भएको दोस्रो चरणको निर्वाचनमा भने युश्चेन्कोभन्दा यानुकोभिच अगाडि आए । यो निर्वाचनमा युश्चेन्कोले ४६ प्रतिशत मत प्राप्त गरे भने यानुकोभिचले ४९ प्रतिशत मत ल्याए। तर, निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम सार्वजनिक हुने बित्तिकै युक्रेनभर प्रदर्शन सुरु भयो।

सुन्तला क्रान्ति भनिने यो प्रदर्शनपछि अदालतले दोस्रो चरणको मतदान फेरि गर्न आदेश दियो । सोही वर्षको क्रिसमस डे का दिन भएको दोस्रो चरणको निर्वाचनमा भने युश्चेन्को ५२ प्रतिशत मत ल्याउँदै विजय भए ।

सन् २०१० मा भएको राष्ट्रपतीय निर्वाचनमा भने रुस समर्थित यानुकोभिच विजयी भएका थिए । तर यानुकोभिच धेरै लामो समयसम्म सत्तामा टिक्न सकेनन् । अर्को क्रान्ति सुरु भयो । सन् २०१४ मा युक्रेनमा यानुकोभिचलाई अपदस्थ गर्ने गरी युरो मैदान क्रान्ति भयो।

अधिनायकवादी रुसबाट टाढा रही अरू युरोपेली देशहरूसँग साझेदारी बढाउनुपर्ने र मुलुकमा लोकतन्त्रको स्थापना हुनुपर्ने माग राख्दै लाखौँ जनता सडकमा ओर्लिए। क्रान्तिकारीले जिते । यानुकोभिच भागेर रुस पुगे ।

मैदान क्रान्तिसँगै युक्रेनमा आफ्नो साझेदार गुमाएको रुसले त्यसलगत्तै युक्रेनको क्राइमियामा सेना पठाएर ‘जनमत सङ्ग्रह’ को आयोजना गर्‍यो । जसमा ९७ प्रतिशतले रुसमा विलय हुन चाहेको भन्दै रुसले क्राइमियालाई आफूमा गाभ्यो।

सन् २०१४ मा रुसी समर्थक राष्ट्रपतिको बर्खास्तीसँगै रुसले युक्रेनको क्राइमिया गाभेपछि रुसकै प्रत्यक्ष सहायतामा रुसी भाषीको बाहुल्यता रहेको पूर्वी युक्रेनको डोनेत्स्क र लुहान्स्क क्षेत्रमा सशस्त्र विद्रोह सुरु भयो ।

सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यी दुई राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएर २४ फेब्रुअरीमा युक्रेनमाथि सैनिक आक्रमण सुरु गरेको हो ।–एजेन्सीको सहयोगमा