जुम्ला । तातोपानी गाउँपालिका–७ सर्मीका भेडा पालकलाई मेसिनबाट राडीपाखी बुन्ने सीप दिइएको छ । यहाँका स्थानीयका लागि आम्दानीको स्रोत नै भेडापालन भएकाले उनीहरूलाई भेडाको ऊनबाट आत्मनिर्भर बनाउन भन्दै सीप सिकाइएको हो ।

भेडाको ऊनबाट राडीपाखी, स्वीटर, पाखेकोट, मफ्लर, लिउ लगायतका सामाग्री बनाउने सिप प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, ‘यसअघि यी सबै सामाग्री बुन्नको लागि पुरानो परम्पराको चाँद प्रयोग हुँदै आएको थियो ।’

एक राडीपाखी, लिउ र पाखेकोट बुन्न करिब एक हप्ताको समय लाग्ने गरेको थियो । प्रमुख देवकोटाका अनुसार कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले मेसिन उपलब्ध गराएर मेसिनबाट राडीपाखी बुन्ने सीप दिएपछि निकै राहत भएको छ ।

मेसिनबाट राडीपाखी बुन्ने सीप २१ जनाले सिकेका छन् । उनीहरूले प्रमाणपत्र समेत पाइसकेका छन् । राडीपाखी बुनेर आत्मनिर्भर हुन प्रेरित गरेको तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानले भने, ‘अब राडीपाखी पर्याप्त बुनेर बजारसम्म लैजाने वातावरण बनाउँछौ ।’

हातले राडीपाखी बुन्दै आइरहेका तातोपानी गाउँपालिका(७ सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुँवर मेसिनले राडीपाखी बुनेर आत्मनिर्भर बन्ने सपना बोकेको बताए । प्रशिक्षक धनपति बुढाका अनुसार अझै पनि जुम्लामा कच्चापदार्थको समस्या छ ।