एजेन्सी । शहबाज शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्री चयन भएका छन् । पाकिस्तान मुस्लिम लीग-नवाज पार्टीका नेता शरीफको समर्थनमा १ सय ७४ मत आयो । ३ सय ४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ भोट आवश्यक थियो । उनको विपक्षमा एउटा पनि मत परेन ।

इमरान खानको पार्टी पीटीआईका शाह महसुद कुरैशीले पहिले निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै सांसद पदबाट राजीनामा दिएर निर्वाचन नलड्ने घोषणा गरे ।

प्रधानमन्त्री चुनिएका शहबाज शरीफले सोमबार राति शपथग्रहण गरेका छन् । आइतबार मात्रै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव बहुमतले पारित भएको थियो । प्रधानमन्त्रीको पदबाट हट्नेबित्तिकै उनले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

को हुन् शहबाज ?
सन् १९५१ मा पाकिस्तानको लाहोरमा जन्मिएका शहबाज आफ्नो परिवारका साथको भारतको पञ्जाबको अमृतसरमा एक गाउँमा बसोबास गर्दै आएका थिए । सन् १९४७ मा भारत विभाजनपछि उनको परिवार पाकिस्तानको लाहोर पुग्यो ।

लाहोरको एक विश्वविद्यालयबाट स्नातकसम्मको पढाइ गरेका शहबाजले त्यसपछि आफ्ना पिताको व्यवसाय सम्हाले । सन् १९८८ मा पाकिस्तान पञ्जाव विधानसभा र सन् १९९० मा नेशनल एसेम्ब्लीमा नेता चुनिएका उनी सन् २०१८ सम्म नेशनल ऐसेम्ब्ली रहे ।

शहबाज सन् १९९७ देखि सन् १९९९ सम्म पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्री समेत भए । मुख्यमन्त्री पदमा रहँदा उनले बेइजिङद्वारा वित्तपोषित परियोजनामा चीनसँग निकट रहेर प्रशासनिक कौशलता प्रदर्शन गरेका थिए ।

सन् २०२२ मा पाकिस्तानको विपक्षी दलका नेता समेत रहेका शहबाज कुशल कुटनितिज्ञको रूपमा पनि परिचित छन् । पाकिस्तानको प्रभावकारी प्रशासकको रूपमा परिचित व्यक्तित्व बनाएका शहबाजको पाकिस्तान सैन्य संयन्त्रसँग सुमुधर सम्बन्ध छ ।

राष्ट्रसंघको महासभामा पटक–पटक पाकिस्तानको नेतृत्व गरेका उनको विचारधारा पाकिस्तानमा निकै चर्चामा रह्यो । चीन मात्र नभई अमेरिकासँग पनि राम्रो सम्बन्ध रहेका शरीफ सन् १९९९ मा पाकिस्तानमा भएको विद्रोहपछि जेल चलान भएका थिए ।

जेल चलानकै क्रममा उनी साउदी अरबमा निर्वासित हुन पुगे । सम्पत्ति लुकाएको आरोपमा उनका दाजु नवाज शरीफ दोषी ठहर भएपछि सन् २०१७ मा शहबाजले पाकिस्तान मुस्लिम लिग नामक पार्टी सुरु गरे ।

शहबाजका दुई दाजुमध्ये नवाज शरीफ पाकिस्तानका लागि ३ पटक प्रधानमन्त्री भइसकेका छन् । अर्का दाजु मियाँ अब्बास शरीफ पाकिस्तानका एक राजनेताको रूपमा परिचित थिए । उनको सन् २०१३ मा निधन भयो । पछिल्लो समय बहुविवाह र अवैध धनसम्पत्ति आर्जन गरेको भन्दै शहबाज निकै आलोचित भएका थिए ।