काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बागमती किनारमा बस्नेहरूलाई मंगलबारदेखि सावधान रहन अनुरोध गरेको छ।
समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको हो।
सुन्दरीजलदेखि तल बागमती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन समितिले अनुरोध गरेको छ।
समितिद्वारा जारी सूचना अनुसार २०७८ चैत २९ गतेबाट अस्थायी रूपमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालन भएको छ। हाल नियन्त्रित दरबाट सुरुङ भरिने काम भइरहेको पनि समितिले जनाएको छ।
वैशाख ६ गतेबाट भने सुरुङ सफाइ क्रममा बागमतीमा पानी छाडिने भएकाले सतर्क रहन सूचना जारी गरिएको हो।