काठमाडौं । अति प्रचारमा रमाउने एनआईसी एसिया बैंक बेलाबेला त्यसै चर्चामा आउँछ । पछिल्लो समय बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेका कारण चर्चामा आएको छ, एनआईसी एसिया ।

उनले सेटिङमा आफ्नै बुबालाई सरकारी मानपदवी दिलाएका छन् । रोशनका बुबा उत्तम कुमार न्यौपानेलाई नयाँ वर्षका दिन वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट जनसेवाश्री पदक ग्रहण गरे ।

एनआईसी एसियाका सीईओ न्यौपाने आफैले आफ्ना बुबालाई पदक दिलाउन गृहमन्त्रालय र केही राजनीतिक दललाई सिफारिस गरेको बताइएको छ । सीईओ न्यौपाने आफैले आफुले एकजनाको नाम सिफारिस गरेको तर, ति एक जना डाक्टर भएको बताएका छन् ।

उनले आफ्ना बुबाको नभइ अर्कै एक जना डाक्टरको नाम सिफारिस गरेको र हाल उनी देशबाहिर रहेको सुनाए । एनआईसी एसियाकै सहायक सूचना अधिकारी अर्जुन राज खनियाँले भने सीईओ न्यौपानेको भनाइलाई खण्डन गरेका छन् । खनियाँका अनुसार न्यौपानेले कुनै डाक्टरलाई सिफारिस गरेका छैनन् ।

न्यौपाने स–साना प्रचारमा असाध्य रमाउँछन् । उनले अवार्ड समेत किन्ने गरेको रहस्य फेला परेको छ । आफैं स्पोन्सर गरेर अवार्ड दिलाउन लगाउने कार्य उनले गरेका छन् । सीईओ न्यौपाने हप्तादिन अघि मात्रै म्यानेजर अफ दी इयर नामक अवार्डबाट सम्मानित भए ।

यो सम्मान उनलाई नेपाल व्यवस्थापन संघ (म्यान)ले दिएको हो । यो सम्मानका लागि उनले आफैं रकम दिएको पाइएको छ । उनले आफूलाई अवार्ड पार्न ५० लाखको प्रायोजन गरेका छन् ।

म्यानका पदाधिकारीलाई सीईओ न्यौपानेले आफूलाई अवार्ड दिए होटल याक एण्ड यतिमा लागेको खर्च सबै व्यहोरिदिने दिने प्रस्ताव गरेका थिए । म्यानका एकजना पदाधिकारीले भनेका छन्, ‘पछि नगदमै कुरा मिल्यो, सीईओले अवार्डका लागि ५० लाख दिन तयार हुनु भयो ।’

किस्सा अनेक
बैंकिङ इतिहासमा आफैं सञ्चालक र आफैं ऋिणी रहेको घटना विरलै सुनिन्छ । तर, एनआईसी एसिया बैंकले त्यो सबै पचाएर हिँडिसकेको छ । यसका सञ्चालक मध्ये धेरैलाई सम्पत्ति सुद्धिकरणले डामेको छ । हाल पनि एनआईसीको सञ्चालक रहेका रामचन्द्र संघई जुवाडे भनेर चिनिएका छन् ।

त्रिवेणी ग्रुपसम्बद्ध संघई कपडा र टेक्सटायल व्यवसाय पनि हेर्छन् । उनीमाथि सर्वसाधारण निक्षेपकर्ताको बैंक मौज्दात जुवा खेलेर उडाएको आरोप मात्रै लागेन हुण्डी कारोबारको आरोप समेत लाग्दै आएको छ । ठूला व्यापारिक घराना हुण्डीकै कारोबारमा चुर्लुम्म छन् भन्ने कुरा अर्थविद् विश्वम्वर प्याकुरेलले अस्तिनै पुष्टि गरिदिएका छन् ।

एनआईसीको मुख्य प्रबन्धक समूह हो, विशाल ग्रुप । यस सम्बद्ध अशोक अग्रवाल पनि सम्पत्ति शुद्धीकरणमा परेका छन् । उनका काका त्रिलोक अग्रवाल पनि यसै समूहका हुन् ।

विशाल ग्रुप नेपालमा नगदको कारोबार गर्ने सबभन्दा ठूलो व्यापारिक समूह हो । यसले विशेषतः आयातको व्यवसाय गर्दछ । नेपालमा गार्मेन्ट व्यवसाय फस्टाएको समयका चल्तापुर्जा मानिने सुरेश अग्रवाल पनि जु्वाको खालबाट समातिए । उनी कपडाको व्यापार गर्छन् ।

पछिल्लो समय चर्चामा आएको मेरियट होटलका मालिक सुमित अग्रवाल सुरेशका नातेदार हुन् । विशाल ग्रुप मुख्य प्रबन्धक रहेको यो बैँकले आफ्ना गल्ती कमजोर लुकाउन विज्ञापनमा वार्षिक ५० करोड खर्च गर्दै आएको छ ।