काठमाडौं । १३औं दक्षिण एसियाली खेलकूद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मंगलबार मृत भेटिएको जानकारी दिए ।

राष्ट्रिय खेलकूद परिषद (राखेप)ले समेत यसको पुष्टि गर्दै श्रद्धाञ्जली दिएको छ । प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी सन्जु बिहान बन्द कोठामा झुन्डिएको अवस्थामा फेला परिन् ।

प्रशिक्षक महर्जनको घरमा आयोजित जात्राको भोजमा सामान्य अवस्थामा सामेल भएकी सन्जु बिहान मृत भेटिएकी हुन् ।

भोजमा संघका अध्यक्ष श्रेष्ठसहित अन्य खेलाडी उपस्थित थिए । अध्यक्ष श्रेष्ठले भोजमा सामान्य अवस्थामा रहेकी सन्जुबारे बिहान यस्तो खबर आएको बताए ।

प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र अनुसन्धानपछि थप जानकारी आउने बताए ।

१९औं एसियाली खेलकूदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् ।

उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् । बाँके घर भएकी सन्जुले १३औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।