अहिले सिंगो मुलुक चुनावी रन्कोमा छ । टोलटोलमा, घरघरमा दलीय नारा घन्किएका छन् । घर, बाटो, धारा, पानी, पँधेरा, पाटी, पौवा र बोटविरुवा रंगिचंगी झण्डा र पोष्टर पम्प्लेटले लपक्कै ढाकिएका छन् । स्थानीय तहको चुनाव भयोन्त, टोलटोल नजाग्ने कुरै भएन । लाग्नेलाई त चुनाव लाग्ने नै भयो । अहिले नलाग्नेलाई पनि चुनाव लागेको छ ।जो पाँच वर्ष पूरै जनप्रतिनिधिलाई धारे हात लगाइरहयो, अहिले उसैले उम्मेद्वारलाई ग्वाम्म अँगालो मारेको छ । यसको राज के हो ? थाहा छैन । त्यसको पत्तो पाउन पनि त केही समय कुर्न पर्ला । खैर,
चुनावी मैदानमा रहेका उम्मेदवार घर दैलो गर्ने नै भए । भोटका लागि चोट सहेर पनि घरदैलो गर्नै परो । तर, उम्मेदवारका पिछलग्गुहरुको कथा बेग्लै छ । उनीहरु अहिले सारा विर्सिएका छन् । आफ्नो घरमा के छ ? के छैन ? कुनै मतलव छैन । उनीहरु आफ्नो घर विर्सिएर छिमेकतिर चासो गर्छन् । र, उनीहरु अहिले छिमेकलाई भन्छन्– तिम्रो घरमा किन चुनाव नलागेको ?
यो घटना राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन माथि नै घट्यो । उनले सुनाए–‘छिमेकमा अहिले उम्मेदवारलाई अँगालो हाल्ने र खुसीयाली मनाउने चटारो छ । तर, तिनै मान्छेले पाँच वर्ष जनप्रतिनिधिलाई गाली नै गरेर गुजारेको विर्सिए । भोलि आफ्नो काम बनेन भने फेरि चोर नेताको ट्याग लगाउने उनीहरु नै हुन् । अहिले उनीहरु मलाई सोध्छन्, तिम्रो घरमा किन चुनाव (राजनीति) नलागेको ?’ विचरा ! छिमेकीलाई कत्रो पिर ?
हो, ति छिमेकीले भनेको जस्तो हरेक नागरिकलाई चुनाव लाग्न जरुरी छ । तर, सँधै भरी यस्तै चटारो भइदिए कति काम हुनेथ्यो होला ? चुनाव सकिएको भोलिपल्ट देखि जनताले के खाए ? उसको घरमा चुल्हो बल्यो बलेन ? बालबच्चाले खाए, खाएनन् ? को नाङ्गा छन् ? को विरामी छन् ? कसैलाई केही मतलब हुँदैन । मतलव राख्छन् त, ‘जो जनप्रतिनिधिसँग नजिक छन्, जसले पढलेख जानेका छन् । जो सजिलै योजना बनाउन सक्छन्’ त्यस्तासँग राख्छन् ।
स्थानीय तहको अघिल्लो कार्यकालमा सबैले बेइमान गरे भनेर भन्न मिल्ला तर अधिकांशले बेइमान मात्रै होइन, सत्यानास गरेका छन् । पानी नभएको ठाउँमा कुलो, बस्ती नै नभएको डाउँमा सडक, खेती नगरिने ठाउँमा सिंचाइ पोखरी, विद्यार्थी नभएका ठाउँमा विद्यालय भवन, डाक्टर नबस्ने ठाउँमा ५० शय्या भन्दा माथिका अस्पताल संरचना निर्माण गरेर के गर्न खोजिएको ? यसको जवाफ अघिल्लो कार्यकालका जनप्रतिनिधिले दिने हो कि अव आउने ? कि संघ सरकारले दिने हो ? कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम बढेको हो ? कुनै भेउ पाउन सकिएको छैन ।