एजेन्सी । स्पेनी क्लब रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१–०२२ को उपाधि जितेको छ ।

फ्रान्सको पेरिसमा शनिबार राति भएको निर्णायक खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै रियालले उपाधि जितेको हो ।

फ्रान्स स्टेडियममा रियाललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।

खेलको ५९औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरे । त्यसबाहेक खेलको ४४औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड रह्यो ।

यस्तै, लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण रियालका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाऊ गरे ।

यससँगै रियाल कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । रियालले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य ध्वस्त भएको छ ।