काठमाडौं । काठमाडौं महानगर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताएका छन् ।
नवनिर्वाचित मेयर बालेन साहले राखेको नगर कार्यपालिका बैठकमा वडाध्यक्ष डंगोलले बैठक भत्ता नलिने बताए । बैठकमा बोल्ने अधिकांश वडाध्यक्षहरुले फोहोरकै विषयलाई जोड दिए ।
फोहोर व्यवस्थापन नभइरहेको अवस्थामा यो बैठकको भत्ता म लिन्नँ,’ उनले भने, ‘यो नोट गर्नुहोला। फोहोर व्यवस्थापन नभएको कारण म बैठक भत्ता लिन्नँ। बैंक खातामा भत्ता भनेर नपठाउनुहोला।’
डंगोल वडा नम्बर १५ मा तेस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भई वडाध्यक्ष चुनिएका हुन् । विद्यासुन्दर शाक्य मेयर हुँदा महानगरको प्रवक्ता डंगोल नै थिए ।
कुहिने र नकुहिने फोहोरको बेग्लाबेग्लै व्यवस्थापन पहिलेदेखि गर्दै आए पनि व्यवस्थापन गर्न नसकिएकाले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको उनले बताए ।