काठमाडौं । बालेन्द्र शाह, हर्क साङपाङ चुनाव जितेर चर्चामा आए । तर, स्वतन्त्रबाट चुनाव हार्ने पनि के कम ! सरकारी अधिकृतको जागिर हापेर मेयरको चुनाव लड्न पुगेका कञ्चन गिरी, चुनाव हारेर पनि चर्चामा आएका छन् । र, यसैलाई भन्छन् होला ‘भाग्यमानीको भुतै कमारो’ ।
सरकारी जागिर लात मारेर बनेपा नगरपालिकाको मेयरमा चुनाव लडेका उनले २ सय मत कटाउन सकेनन् । पुतली चुनाव चिह्न पाएका उनले जम्मा १६१ मत ल्याए । चुनावमा पराजित भएर के भो त ? पहिले हापेकैस्तरको जागिरमा नाम निकाल्दिए, फेरि । अनि चर्चा नहोस्, उनको ।
गिरीले नेपाल विद्युत् प्राधिकरणको सातौँ तहको अधिकृतबाट राजीनामा दिएर बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । मेयरको चुनाव हारेका उनी फेरि पुरानै गन्तव्यमा फर्किएका छन् । गिरीले हालै पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा अधिकृतमा नाम निकालेका हुन् ।
अब भने उनी राजनीतिदेखि तर्सिएका छन् । र, सरकारी नियुक्ति लिएर राजनीतिक कुरा गर्नु उपयुक्त हुँदैन भन्ने निष्कर्षमा उनी पुगेका छन् । उनले भनेका छन्, ‘भाग्यवश, भगवानले मेरो हात थामे । शायद यसैलाई डिभाइन इन्टरभेशन भनिन्छ, होला । र, बालबाल बचियो ।’
अब आफ्नो लक्ष्य सँधै देश र जनताको सेवा भएको गिरीले बताएका छन् । उता, बनेपाको नगर प्रमुखमा नेपाली कांग्रेसबाट शान्ति रत्न शाक्य निर्वाचित भएका छन्।
शाक्यले १३ हजार ७९३ मत ल्याएर विजयी भए भने निकट प्रतिस्पर्धी एमालेका रत्न कुश रंजितकारले ११ हजार ८३५ ल्याए । उपप्रमुखमा भने एमालेबाट बिमला सापकोटा दाहाल निर्वाचित भईन। कडा दलीय प्रतिस्पर्धा भएको यो नगरपालिकामा स्वतन्त्रबाट नेपाली राष्ट्रिय पोषाकका प्रचारक राजानन्द माण्डव्य समेत चुनावमा होमिएका थिए । उनको पनि बालेन र साम्पाङजस्तो भाग्य चम्किएन ।