कास्की । नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका नेपाली चलचित्र नायक पूर्ण विक्रम शाह (पल)लाई उच्च अदालत पोखराले तारेखमा छाड्न अस्वीकार गरिदिएको छ ।
उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ अदालतकै आदेश सदर गर्दै पललाई तारेखमा छोड्न अस्वीकार गरेको हो ।
तनहुँ उच्च अदालतले गएको चैत १० गते आदेश दिँदै पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार तनहुँ जिल्ला अदालतको आदेशलाई परिवर्तन गर्न नपर्ने कुरा उच्चको आदेशले भनेको छ ।
नाबालिग गायिकाले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जाहेरी दिएकी थिइन्। जाहेरीमाथि सुनुवाइ गर्दै तनहुँ जिल्ला अदालतले पललाई थुनामा पठाएको थियो।
पीडित गायिका र उनका परिवारले पछिल्लो समय अदालतमा बकपत्र गर्दा बयान फेरेका थिए। पीडित र परिवारले बयान फेरे पनि अदालतले अभियुक्तलाई रिहा गर्न मानेको छैन ।