काठमाडौं । पोर्चुगलका हस्ती क्रिश्चियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा पेनाल्टीबाहेक १०० गोल पूरा गर्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत स्विजरल्याण्डविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् ।

समूह चरण अन्तर्गत आइतबार राति पोर्चुगलले स्विजरल्याण्डलाई ४–० गोल अन्तरले हरायो । जसमा रोनाल्डोले दुई गोल गरे ।

रोनाल्डोले पोर्चुगलका लागि १ सय १७औं गोल समेत पूरा गरे । उनले १ सय ८८ खेल खेल्दै उक्त गोल गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि पेनाल्टी बाहेक १ सय १ गोल गरेका छन् । पेनाल्टीबाट उनको भागमा १६ गोल छ ।