काठमाडौं । ककनीबाट दिनभर (९ घण्टा) हाइटेन्सन लाइनमा चढेका माइला भनिने प्रेम बिकलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ । नेपालीको टोलीले माइलाको लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

नुवाकोटमा त्रिशूली ‘थ्री ए’को प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न उर्जामन्त्री पम्फा भुसालले सेनालाई आग्रह गरेकी थिइन् । प्रहरीका अनुसार विकको मानसिक सन्तुलन ठीक छैन । जसकारण उनको उद्धारमा कठिनाइ भोग्नु परेको प्रहरीले जनाएको छ।

बिहान स्थानीयले उनलाई पोलमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। करेन्ट लाग्न सक्ने डरले विद्युत प्राधिकरणलाई पनि खबर गरिएको थियो। बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक शनिबार बिहान १० बजेदेखि ककनी गाउँपालिका–७ स्थित प्रसारण लाइनमा झुन्डिएका थिए । दिनभर कयौँ प्रयास गर्दा उनी तल झर्न मानेनन् । अन्तिममा सेनाको हेलिकोप्टरमार्फत उनको उद्धार भयो ।

उनको यो हर्कतले त्रिशुली थ्री ए आयोजना झण्डै ९ घण्टा बन्द हुन पुग्यो । जस कारण प्राधिकरणलाई लाखौँ घाटा भएको छ भने केही क्षेत्रमा दिनभर लोडसेडिङ भयो । यद्यपि, मानवीय उद्दारअघि आर्थिक क्षति ठूलो नभएको भन्दै धेरैले सरकारले मानव जीवन रक्षाका लागि गरेको प्रयास अनुकरणीय भनी प्रतिक्रिया दिएका छन् ।