काठमाडौं । दक्षिण एशियाली खेलकूद (साग)की ४ स्वर्णधारी गौरिका सिंह जापानको फुकुओकामा जारी २०औ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो पुरानो समयमा सुधार गर्दै नयाँ समयका साथ राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छन् ।
टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी हुन् । यसअघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तिमान राखेकी थिइन् ।
ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको वुधबार भएको पुरुष तर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहलेपनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन् । एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११ औं एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको किर्तिमान राखेका थिए ।
मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो ब्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ सेकेन्ड समयमा दुरी पुरा गरेकी थिइन् । यस अघि डुवानको ब्यक्तिगत समय २ मिनट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनट ११.९४ सेकेन्डको समय रहेको छ ।
अब नेपाली खेलाडीहरुको दुई खेल बाँकी छ । बिहीबार डुवाना लामाले १०० मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम ब्यवस्थापक नरेश बैद्यले बताएका छन् ।