लम्की, कैलाली । घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमखेतकी ४५ वर्षीया जौमती रोकाया थला परे पछि ६ महिनाको दूधेबालकसहित पाँच सन्तानको विचल्ली भएको छ । क्यान्सर पीडित रोकाया ७ महिना देखि उपचारको अभावमा घरमै थला परेका छन् ।

आर्थिक अवस्था कमजोर रहेको परिवारमा श्रीमानले भारतमा मजदुरी गरी परिवार पाल्दै आएका थिए । गएको साउनमा रोजगारीकै क्रममा उनको भारतमा निधन भएपछि आम्दानीको स्रोत पनि बन्द भएको छ ।

३ कट्ठा ऐलानी जग्गा र सानो खरको झुपडी बाहेक सम्पति नरहेको जौमतीका १३, १०, ६ वर्ष र ६ महिनाका तीन छोरा र एक छोरी छन् । आमा थला परेपछि घरको कामदेखि भाई बहिनी र आमाको रेखदेख जेठा छोरा लोकराज रोकायाले गर्ने गरेका छन् ।

कक्षा ८ मा अध्ययनरत् लोकराजले आफूले जानी नजानी खाना पकाउने खुवाउने घरको सरसफाई गर्ने गरेको बताए । पानीको समस्या समेत रहेको यो गाँउमा पानी ल्याउन १५ मिनेट टाढा पुग्नुपर्ने समस्या छ । पुसको जाडोमा खाली गुन्द्रीमाथि पातलो कम्बलले रात काट्ने रोकयाको परिवार यतिखेर निक्कै कष्टकर जीवन विताईरहेको छ ।

६ महिने बालकलाई जौमतीकी देउरानी तुलीदेवी रोकयाले ४ दिनदेिख आफूले घरमा लगेको बताईन् । दिदीले स्याहार्न नसकेपछि बच्चाले साह्रै दुःख पाएको देखेपछि आफूले घरमा पाउडर दूध खुवाएर पालेको उनले जानकारी दिईन् । चिसो र आमाको दूध खान नपाएपछि बच्चा रातभर रुने गरेको समेत तुलीदेवीले बताईन् ।

सहयोग
जौमतीको परिवारका वारेमा विभिन्न संचारमाध्यम र सामाजिक संजालबाट जानकारी पाएपछि घोडाघोडी नगरपालिकाबासी हाल भारतको बैंग्लोरमा रोजगारीका लागि गएका नेपालीले सञ्चालन गरेको सुनौलो घोडाघोडी समाजको पहलमा संकलन भएको सहयोग रकम बुधवार जौमतीको परिवारमा हस्तान्तरण गरिएको छ ।

समाजका कोषाध्यक्ष जीवन रिजालले आठ हजार रुपियाँ वडा अध्यक्ष टेक बहादुर बुढाको रोहवरमा हस्तान्तरण गरे । त्यसैगरी वातावरण संरक्षण तथा विकाशील समाज (ईकोड्स नेपाल)ले काठमाडौंमा संकलन गरेको सहयोग रकमबाट न्यानो कपडा ज्याकेट, सुरवाल, मोजा, टोपी कम्बल गरी पाँचहजार बराबरको कपडा खरिद गरी परिवारलाई सहयोग गरेको छ ।