काठमाडौं । आज विक्रम संवत् २०७६ साल माघ १ गते बुधवार, ईश्वी संवत २०२० जनवरी, १५ । नेपाल सम्बत ११४० पोहेलागा, पञ्चमी । अहिले कलिकालको ५१२०औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी संवत्सर चलिरहेको छ ।

सूर्यको उत्तरायण यात्रा सुरु भएको छ । शिशिर ऋतुअन्तर्गत माघकृष्णपक्षको पञ्चमी तिथि दिउँसो ३ बजेर ५१ मिनेटसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् ।

सूर्य मकर राशिमा, चन्द्रमा सिंह र बृहस्पति धनु राशिमा छन् । मघा नक्षत्र दिउँसो ११ बजेर १७ मिनेटसम्म रहनेछन् । यसैगरी आज शोभन योग, गर करण रहेको छ ।

आज मकरसंक्रान्ति हो । आजबाट सूर्य मकरराशिमा प्रवेश गरेका छन् । यसकासाथै आजबाट उत्तरायण र शिशिरऋतुको पनि प्रारम्भ भएको छ । यो संक्रान्तिलाई धर्मशास्त्रले विशेष पर्वका रूपमा व्याख्या गरेको छ ।

संक्रमण भएको विशेष समयलाई पुण्यकाल भनिन्छ । यो समयमा गरिएको दान पुण्यादी कर्मकोे अक्षय फल प्राप्त हुने कुरा धर्मशास्त्रमा लेखिएको छ ।

उत्तरायण हरेक कार्यका निम्ति शुभ मानिन्छ । खगोललाई (आकाशलाई) उत्तरी र दक्षिणी दुई भागमा विभक्त गरिएको छ । खगोलको उत्तरी भागमा देवताको निवास बताइएको छ भने दक्षिणी गोलमा दैत्यको निवास रहने गर्दछ ।

अर्थात् एक वर्ष बराबर देवताको एक दिनरात (अहोरात्र)हुने गर्दछ । सूर्य उत्तरायणमा हुँदा देवताको दिन र दक्षिणायनमा हुँदा रात हुन्छ । देवताको दिन भनेको मानवको उत्तरायणको समय हो ।

यस बेला गरिएका धार्मिक कर्मले देवता खुशी भई वरदान दिने कुरा पुराण एवं धर्मशास्त्रमा उल्लेख पाइन्छ । उत्तरायणमा गरिएका कार्यले देवता खुशी हुने भएकाले यो समयलाई उत्तम मानिएको हो ।

संक्रान्तिमा गंगास्नान गरे सय गुण शुभ फल मिल्छ । गंगा र यमुनाको संगममा स्नान गरे त्यसको पनि सय गुणा शुभ फल प्राप्त हुन्छ । त्यसैले गंगामै पुग्न नसके पनि प्रयागको स्मरण गर्नाले पनि उत्तम फल प्राप्त हुने कुरा धर्म्सिन्धुमा उल्लेख छ ।

यसरी स्नान गर्दा विशेष संकल्प पूर्वक गर्नु पर्दछ । यसरी गरिएको स्नानले दुःख दारिद्र्य हटेर जाने कुरा पनि शास्त्रमा उल्लेख पाइन्छ ।

यो दिन दाउरा, कम्बल, वस्त्र, जुता, तेल, घिउ, त्रिपाल, सुन एवं अन्नदान गर्नाले महत् पुण्य प्राप्त हुने कुरा धर्म्सिन्धुमा उल्लेख गरिएको छ । यसैगरी माघमा स्नान गर्नाले इच्छाएको फल प्राप्त हुने कुरा निर्णयसिन्धुमा पनि बताइएको छ ।

यसैगरी तिलको तिलक लगाउनुका साथै तिलका लड्डु, घ्यु, चाकु, तरुल आदि वस्तु खाने चलन पनि रहेको छ ।

तिथि, बार, नक्षत्र, योग र करण अनुसार सूर्य कसरी संक्रमण भएका छन् सोही अनुसारको शुभाशुभ फल प्राप्त हुने कुरा पनि मुहूत्र्त शास्त्रमा उल्लेख पाइन्छ । संक्रान्तिमा पञ्चाङ्गफल श्रवण गर्नाले गंगा स्नान गरेबराबरको फल प्राप्त हुने विश्वास गरिन्छ ।