रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको जैविक विविधता संरक्षणमा थप प्रभावकारी तुल्याउन फागुन १ गतेदेखि महाअभियान शुरु गर्ने भएको छ ।

उक्त कार्यालयमा आज भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली क्षेत्रको आफ्नो आधार इलाका क्षेत्रमा अवैध क्रियाकलाप रोक्न विशेष गस्तीको महाअभियानमा निकुञ्जका कर्मचारीसहित १६० भन्दा बढी नेपाली सेना परिचालन गर्ने तयारी पूरा भएको जानकारी दिइन् ।

महाअभियान गस्ती फागुन १ गतेदेखि आगामी २०७६ साल जेठ महीनाभर जङ्गलको गस्तीलाई निरन्तरता दिनाका साथै प्रत्येक गौडा गौडामा समेत निगरानी बढाउने निकुञ्जले जनाएको छ । यस्तै गर्मीयाममा लाग्न सक्ने डढेलोप्रति सचेत रही कुनै पनि आगोजन्य वस्तु लाइटर, सलाइजस्ता वस्तु जथाभावी प्रयोग नगर्न निकुञ्जवासीलाई आग्रह गर्दै प्रमुख संरक्षण अधिकृत रानाले संरक्षण कार्य थप प्रभावकारी तुल्याउन सबै क्षेत्रबाट सहयोग मिल्नेमा आफू आशावादी रहेको बताइन् ।

वन, वनस्पति र वन्यजन्तु जैविक विविधता जीवनको महत्वपूर्ण पाटो सम्झी कुनैले अवैध काम गर्न वा गराउन लागेको देख्नसाथ नजीकको निकुञ्ज वा सैनिक पोस्ट र धुञ्चेस्थित तालुक निकायमा खबर गरी दिन निकुञ्जवासीसमक्ष आग्रह गरिएको समेत लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।