सप्तरी । सप्तरीको पूर्वी क्षेत्रमा पर्ने योगिनियाँमा माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ जोगिनिया बस्ने शंकरप्रसाद यादवकी श्रीमती करिब २५ वर्षीया सुनितादेवी यादवको सोमबार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

घरदेखि करिब एक किलोमिटर पूर्व कोशी बाँधमा माटोको सुरूङ्बाट माटो खन्ने क्रममा खसेको ढिस्काले पुरिएर घाइते भएकी यादवको उपचारको क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमा गरी परिवारलाई जिम्मा लगाइएको छ भने घटनाको अनुसन्धान भइरहेको छ।