काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा कात्तिक पहिलो साताबाट भारतको सिक्किममा आयोजना हुने गभनर्स गोल्डकपमा सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र विभागीय नेपाल एपीएफ क्लबलाई पठाउने निर्णय गरेको छ ।

एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले मनाङ र एपीएफलाई पठाउने निर्णय भएको एन्फाले जनाएको छ । गभनर्स गोल्डकप कात्तिक ६ गतेदेखि १७ गतेसम्म सिक्किममा आयोजना हुदैछ ।

यस्तै एन्फाको आपतकालीन बैठकले संघको पेश्की फर्छौट समितिको समयाअवधि तीन महिना थप गरिएको छ । समितिको संयोजकमा हरि रायमाझी र सदस्यमा रविन्द्र जोशी रहेका छन् । एक जना सिए समितिले मनोनयन गर्नेछ ।

यस्तै पेश्की फर्छौट समिति गठन भएसँगै पेश्की फर्छौट गर्न बाँकी रहेका व्यक्ति र संघ वा संस्थालाई ३५ दिनभित्र पेश्की फर्छौट गर्न पत्राचार गरिसकेको जनाएको छ ।